काठमाडौँ- सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सहकारी बेथिति जाँचबुझ आयोग–२०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । निर्णयअनुसार मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी मन्त्रिपरिषद्ले नेपाल–चीन जोड्ने चिलिमे–केरूङ विद्युत् प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।






