आसन्न महाधिवेशन सहमतिमै टुंग्याउनुपर्नेमा रास्वपा

काठमाडौँ – फागुन २१ को निर्वाचनअघि विभिन्न समूहबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिएकाहरूले आसन्न महाधिवेशन सहमतिमै टुंग्याउनुपर्ने बताएका छन्। निर्वाचनपूर्व बालेन शाहको समूह, विवेकशील साझा पार्टी, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, थारूहट–थारूवान आन्दोलनका अगुवा तथा जेनजी अभियानीहरू रास्वपामा समायोजन भएका थिए। समायोजन पक्षधरहरूले चुनावमा यथोचित प्रतिनिधित्व पाएको र संसद्मा पनि उपस्थिति रहेको भन्दै महाधिवेशनमा समेत सोहीअनुसार सहभागिता सुनिश्चित गर्न माग गरेका हुन्। पार्टी महामन्त्री भूपदेव शाहले समायोजनबाट आएका समूहहरू सहमतिमै महाधिवेशन सम्पन्न होस् भन्ने पक्षमा रहेको बताएका छन्।

केन्द्रीय समितिले गत वैशाख ३० गते भूपदेव शाहको नेतृत्वमा समायोजन समिति गठन गरेको थियो। समितिमा विष्णुपुकार श्रेष्ठ र रामकृष्ण भट्टराई सदस्य छन्। समितिले समायोजनको प्रारूपमाथि काम गरिरहेको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधन प्रस्ताव तयार पार्दै सबै तहका समितिको प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी गरेको छ। गत केन्द्रीय समिति बैठकले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो। कार्यदलमा गणेश पराजुली, चन्दा कार्की, प्रकाशचन्द्र परियार र सुशान्त बैदिक सदस्य छन्। कार्यदलले प्रदेशदेखि वडा तहसम्मका समितिबाट सुझाव संकलन गरिरहेको जनाएको छ। सहमहामन्त्री आचार्यका अनुसार जेठ १० गतेभित्र विधान संशोधन प्रस्ताव बुझाइनेछ।

त्यसैगरी केन्द्रीय निर्वाचन आयोगले निर्वाचन मोडालिटी, प्रतिनिधित्वको आधार तथा निर्वाचन प्रक्रिया सम्बन्धी प्रारूप तयार पारिरहेको छ। आयोगमा उपप्रमुख राम गुरुङको नेतृत्वमा छलफल जारी छ भने सदस्यहरूमा भुवन केसी, कुमार आनन्द र नारायण प्याकुरेल रहेका छन्। रास्वपाले महाधिवेशन तयारीका लागि १४ वटा उपसमिति गठन गर्ने तयारी गरेको छ। यसअघि तीनपटक सरेको महाधिवेशन अब असार ७, ८ र ९ गते चितवनमा हुने तय भएको छ। हाल रास्वपाको विधानअनुसार केन्द्रीय समिति १२९ सदस्यीय हुनेछ। सभापतिसहित ९९ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने सभापतिलाई २२ जना मनोनीत गर्ने अधिकार हुनेछ। सातै प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्