काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेश र कर्णाली प्रदेश का हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने सम्भावना छ । बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम सफा रहने जनाइएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशसहित अन्य हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन रहने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







