पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको पुनः सदस्यता

काठमाडौं – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा आज बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो । पूर्वराष्ट्रपति भण्डारीको भावी भूमिका तथा पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा एमाले उपमहासचिव लेखराज भट्टले हालका लागि सदस्यता दिने निर्णय भएको र नेतृत्वको विषय भविष्यमा तय हुने बताउनुभयो । उहाँले पार्टीको आवश्यकता अनुसार भण्डारीलाई जिम्मेवारी दिइने उल्लेख गर्नुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव भट्टले अध्यक्ष ओलीले पछिल्लो निर्वाचन परिणाम तथा वर्तमान राजनीतिक अवस्थाबारे समीक्षात्मक धारणा राख्नुभएको जानकारी दिनुभयो । बैठकमा महासचिवद्वारा ११ वटा कार्यसूची प्रस्तुत गरिएको थियो । जसमा पदाधिकारीहरूको वरीयताक्रम निर्धारण, सरकारको कामकारबाही समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार, पदाधिकारी र सदस्यहरूको कार्यविभाजनलगायत विषय समावेश रहेका थिए ।

एमालेले वर्तमान सरकार स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको निष्कर्ष निकाल्दै त्यसबारे पनि बैठकमा छलफल गरेको जनाएको छ । त्यसैगरी संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन तथा सङ्गठन विभाग विस्तारजस्ता विषयमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो ।

एमाले सचिवालयको अर्को बैठक आगामी शुक्रवार बिहान साढे ११ बजे गुण्डुमै बस्ने तय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्