काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) काठमाडौं जिल्लाको आयोजनामा “विद्यार्थी मूल्याङ्कनका सम्भावित तरिका तथा साधनहरू” विषयक एकदिने शैक्षिक कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम काठमाडौंको चावहिलस्थित भिएस कलेजमा उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो ।
कार्यशालामा काठमाडौं विश्वविद्यालय शिक्षा सङ्कायका संयोजक राजेन्द्र दाहालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले आधुनिक शिक्षण प्रणालीमा विद्यार्थी मूल्याङ्कनको बदलिँदो अवधारणा, व्यवहारिक सिकाइ, सीपमा आधारित शिक्षण, निरन्तर मूल्याङ्कन प्रणाली, परियोजना कार्य, प्रस्तुतीकरण, समूहगत अभ्यास, व्यवहारिक परीक्षण तथा सिर्जनात्मक मूल्याङ्कनका विविध विधिबारे विस्तृत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा संस्थासँग आबद्ध ८२ वटा विद्यालयका २०३ जना शिक्षक-शिक्षिकाको सहभागिता रहेको थियो । सहभागीहरूले वर्तमान शिक्षा प्रणालीमा विद्यार्थीको वास्तविक क्षमता पहिचान गर्न परम्परागत परीक्षा प्रणाली मात्र पर्याप्त नभएको उल्लेख गर्दै व्यवहारिक तथा आधुनिक मूल्याङ्कन पद्धति समयसापेक्ष र आवश्यक रहेको बताएका थिए ।
संस्थाका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले कार्यक्रम उपलब्धिमूलक र शिक्षण क्षेत्रका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले बदलिँदो विश्व परिवेशसँगै शिक्षण शैली र मूल्याङ्कन प्रणालीमा पनि परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, काठमाडौं जिल्ला अध्यक्ष अमृत खड्काले संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संस्था निरन्तर सक्रिय रहेको बताउँदै आगामी दिनमा पनि शिक्षकहरूको पेशागत दक्षता विकासका लागि विभिन्न तालिम, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी शिक्षक–शिक्षिकाहरूले नेपाल सरकारले अघि सारेको सीपमा आधारित शिक्षण अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न यस्ता प्रशिक्षण अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका थिए । उनीहरूले विद्यार्थीलाई केवल परीक्षा केन्द्रित नभई व्यवहारिक, सिर्जनशील, अनुसन्धानमुखी तथा जीवनोपयोगी शिक्षा प्रदान गर्न आधुनिक मूल्याङ्कन पद्धति प्रभावकारी हुने धारणा राखेका थिए ।
पछिल्लो समय शिक्षा क्षेत्रमा सिकाइ उपलब्धि, व्यवहारिक दक्षता, सिर्जनात्मक सोच तथा समस्या समाधान क्षमतालाई प्राथमिकता दिन थालिएको अवस्थामा यस्ता कार्यशालाले शिक्षकहरूलाई नयाँ सोच, नयाँ विधि तथा आधुनिक मूल्याङ्कन उपकरणबारे अद्यावधिक गराउँदै विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।






