काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक सोमबार बस्ने भएको छ । शनिबारका लागि तय गरिएको बैठक सारेर सोमबारका लागि निर्धारण गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ । निर्वाचनपछिको अवस्थामा अध्यक्ष ओली पहिलो पटक सचिवालय बैठकमा सहभागी हुन लाग्नुभएको हो । गत चैत १३ गते भएको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक मानिस मारेको अभियोगमा पक्राउ परेका ओली चैत २६ गते रिहा भएका थिए । त्यसपछि स्वास्थ्य समस्याका कारण उहाँ सक्रिय पार्टी गतिविधिबाट केही समय टाढा रहनुभएको थियो ।
अध्यक्ष ओली हिरासतमा रहेका बेला पार्टीले पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । उहाँकै अध्यक्षतामा यसअघि दुई पटक सचिवालय बैठक सम्पन्न भइसकेको छ । पछिल्लो समय एमालेभित्र शक्ति संघर्ष चुलिएको चर्चा चलिरहेका बेला सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेल लगायत नेताहरूले पार्टीको आगामी नेतृत्व र रणनीतिबारे आन्तरिक छलफल तीव्र बनाएको बताइएको छ ।
एमालेभित्र निर्वाचन समीक्षा, संगठन विस्तार तथा नेतृत्व व्यवस्थापनलगायत विषयमा लामो समयदेखि छलफल हुन नसकेको अवस्थामा सचिवालय बैठक बोलाइएकाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।





