काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदा १५ दिन कटौती गर्ने निर्णय गरेको छ । हालसम्म एक शैक्षिक सत्रमा ४५ दिनसम्म दिइँदै आएको यस्तो बिदा अब ३० दिनमा सीमित गरिएको हो । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) दिने निर्णयपछि पठनपाठनमा पर्न सक्ने असर न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको जनाएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र गर्दै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को गत चैत २२ गते बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विद्यालय सञ्चालनलाई प्रभावकारी बनाउन केन्द्रले ६ बुँदे निर्देशन जारी गरेको हो ।
निर्देशनअनुसार विद्यालयमा प्रार्थना समय १५ मिनेटमा सीमित गरिनेछ भने खाजा समय अधिकतम ३० मिनेट मात्र रहनेछ । सोमबारदेखि शुक्रबारसम्मको समय पूर्ण रूपमा पठनपाठन र शैक्षिक गतिविधिमा केन्द्रित गर्न विद्यालयलाई भनिएको छ । त्यस्तै, पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन नियमित पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्नुपर्ने तथा अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन छुट्याउनुपर्ने व्यवस्था गरिएको छ ।





