काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखा ले आज सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशसहित बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । तराईका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् । महाशाखाका अनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य हिमाली र पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षाको सम्भावना रहेको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
मौसममा आउने बदलीसँगै हावाहुरी, चट्याङ तथा वर्षाका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी यात्रा गर्दा, खुला स्थानमा बस्दा तथा कृषि कार्यमा संलग्न हुँदा सावधानी अपनाउन अनुरोध गरिएको छ ।






