एसईई २०८२ मा भीमेश्वर एकेडेमीको शतप्रतिशत नतिजा, २० विद्यार्थीले ल्याए ए प्लस

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९, काँडाघारीस्थित भीमेश्वर एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक सफलता प्राप्त गरेको छ । विद्यालयका अनुसार एसईई परीक्षामा सहभागी २८ जना विद्यार्थीमध्ये २० जनाले ए प्लस र ८ जनाले ए ग्रेड प्राप्त गर्दै सबै विद्यार्थी सफल भएका छन् । उत्कृष्ट नतिजासँगै विद्यालयले यस क्षेत्रको गुणस्तरीय शिक्षामा आफ्नो पहिचानलाई थप मजबुत बनाएको जनाएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल अमृत कुमार खड्काले उत्कृष्ट नतिजाले विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको विश्वासकै कारण हामीले शतप्रतिशत नतिजासहित उत्कृष्ट उपलब्धि हासिल गरेका हौं । हामी केवल परीक्षामुखी शिक्षा होइन, व्यवहारिक, नैतिक, प्रविधिमैत्री तथा जीवनोपयोगी शिक्षामा जोड दिँदै आएका छौं ।”

उहाँले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण प्रणाली तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भीमेश्वर एकेडेमीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई विशेष महत्व दिँदै आएको छ । विद्यालयमा नियमित रूपमा विज्ञान प्रदर्शनी, कम्प्युटर तथा प्रविधिमूलक शिक्षण, वक्तृत्वकला, हाजिरीजवाफ, नृत्य, संगीत, चित्रकला, हस्तलेखन, योगा, खेलकुद, स्काउट, नेतृत्व विकास तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । विद्यार्थीभित्रको प्रतिभा प्रस्फुटन, आत्मविश्वास विकास तथा अनुशासित वातावरण निर्माणमा विद्यालयले विशेष ध्यान दिँदै आएको विद्यालय प्रशासनले जनाएको छ ।

स्थानीय स्तरमा गुणस्तरीय, अनुशासित र विद्यार्थीमैत्री शिक्षाका लागि परिचित भीमेश्वर एकेडेमीले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्