काठमाडौं । सरकारले २०८७ सालसम्म देशका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले एकीकृत खानेपानी कार्यक्रममार्फत उक्त लक्ष्य हासिल गरिने घोषणा गरेका हुन्। उक्त लक्ष्य प्राप्तिका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी खानेपानी आयोजनाहरू सञ्चालन गरिने सरकारको योजना छ।
नागरिकले पिउने पानीको गुणस्तर सुनिश्चित गर्न देशभर पानी परीक्षण प्रयोगशालाहरू स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। साथै, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा पानीका स्रोत संरक्षणका लागि वर्षाको पानी संकलन र त्यसको दिगो व्यवस्थापनलाई प्राथमिकता दिइनेछ।
यसपटक सरकारले नेपाली पानीलाई विश्व बजारमा निर्यात गर्ने नयाँ रणनीति पनि अघि सारेको छ। ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणाअनुसार नेपाली पानीलाई अन्तर्राष्ट्रिय बजारमा विशिष्ट ब्रान्डका रूपमा स्थापित गरिने राष्ट्रपति पौडेलले बताएका छन्।
तस्बिरः रासस





