काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ । “सक्षम सांसद, सशक्त संसद्” भन्ने नारासहित ललितपुरको जावलाखेलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायत पदाधिकारी तथा सांसदहरूको सहभागिता रहेको छ ।
प्रशिक्षण कार्यक्रममार्फत सांसदहरूको संसदीय क्षमता अभिवृद्धि, नेतृत्व विकास, अनुभव आदान–प्रदान तथा नयाँ राजनीतिक संस्कार निर्माण गर्ने उद्देश्य राखिएको पार्टीले जनाएको छ । यसैबीच, कार्यक्रममा सांसदहरूको उपस्थिति अपेक्षाभन्दा कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले असन्तुष्टि जनाउनुभएको छ । उद्घाटन सम्बोधनका क्रममा उहाँले प्रशिक्षणलाई कम महत्व दिनु संसदीय भूमिकाप्रति उदासीनता देखाउने संकेत भएको बताउनुभयो ।
उहाँले यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्याङ्कन र जिम्मेवारीबोध गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पराजुलीले नागरिकले नयाँ सोच, नयाँ कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेको भन्दै क्षमता र कार्यसम्पादनकै आधारमा जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो । साथै, सांसदहरूको उपस्थितिको विषयमा पार्टी र संसदीय दलले आवश्यक मूल्याङ्कन गर्ने चेतावनीसमेत दिनुभयो ।





