भक्तपुर–काभ्रे जोड्ने महत्वपूर्ण वैकल्पिक मार्ग घ्याम्पेडाँडा-रानिकोट सडक स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि काम भने अझै सुरु हुन सकेको छैन। रातो किताबमै समावेश गरिएको योजना आर्थिक वर्ष सकिन लाग्दासमेत कार्यान्वयनमा नआएपछि स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। स्थानीयका अनुसार सडक स्तरोन्नतिका लागि करिब १.५ किलोमिटर खण्ड मात्रै बाँकी रहेको भए पनि सम्बन्धित निकायको बेवास्ताका कारण निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो। उक्त सडक भक्तपुर हुँदै काभ्रेको पनौती जाने छोटो मार्गका रूपमा परिचित छ भने ललितपुरको लाकुरीभञ्ज्याङसँग समेत जोडिने रणनीतिक महत्व बोकेको सडक मानिन्छ।
हाल काभ्रेतर्फ पनौतीबाट रानिकोटसम्मको सडक कालोपत्रे भइसकेको छ। तर भक्तपुरतर्फको खण्ड निर्माण नहुँदा स्थानीयवासीले दैनिक सास्ती खेप्नुपरेको बताएका छन्। ऐतिहासिक रानिकोट गढी, प्राकृतिक दृश्यावलोकन तथा धार्मिक आस्थाको केन्द्र प्राकृतिक भैरव मन्दिर दर्शनका लागि दैनिक सयौंदेखि हजारौं आन्तरिक पर्यटक पुग्ने गरेका छन्। सडक सहज भए पर्यटन गतिविधि अझ विस्तार हुने स्थानीय पर्यटन व्यवसायी तथा समाजसेवी रामसुन्दर बके बताउँछन्। उनका अनुसार सडक पहुँचकै कारण क्षेत्रमा साना-ठूला होटल तथा अन्य व्यवसायसमेत विस्तार भइरहेका छन्।
पर्यटन तथा होटल व्यवसायी तथा समाजसेवी रामसुन्दर बके ले घ्याम्पेडाँडा–रानिकोट सडक समयमै स्तरोन्नति हुन नसक्दा यस क्षेत्रको पर्यटन तथा स्थानीय व्यवसाय प्रभावित भएको बताए। उनले रानिकोट गढी, प्राकृतिक भैरव मन्दिर तथा आसपासका रमणीय स्थान अवलोकनका लागि दैनिक ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरे पनि सडकको खराब अवस्थाले पर्यटकलाई सास्ती भइरहेको उल्लेख गरे। सडक सहज र सुरक्षित बने यस क्षेत्रमा होटल, रेष्टुरेन्ट तथा कृषि–आधारित व्यवसाय अझ विस्तार हुने सम्भावना रहेको उनको भनाइ छ। साथै उनले प्रदेश सरकारले विनियोजन गरेको बजेट तत्काल कार्यान्वयन गरी बाँकी सडक स्तरोन्नतिको काम शीघ्र अघि बढाउन आग्रह गरे।
यसै सडकमार्फत काभ्रेको पनौती-१ क्षेत्रमा सञ्चालित ट्राउट फर्मका उत्पादन, कृषि उपज तथा बेथानचोक गाउँपालिकास्थित च्याग्रमबेसीको मडानी डेरीको दूध काठमाडौं उपत्यकामा भित्रिने गरेको छ। तर सडकको दयनीय अवस्थाले व्यवसाय सञ्चालन तथा ढुवानीमा समस्या भइरहेको व्यवसायीहरूको गुनासो छ। स्थानीयवासीका अनुसार वर्षायाममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने भएकाले दैनिक आवतजावतमा कठिनाइ हुने गरेको छ। विद्यालय जाने बालबालिकादेखि सर्वसाधारणसम्म प्रभावित भएका छन् भने दुर्घटनाको जोखिमसमेत बढ्दै गएको उनीहरूको भनाइ छ। स्थानीयले विनियोजित बजेट तत्काल कार्यान्वयन गरी बाँकी सडक स्तरोन्नति गर्न प्रदेश सरकारसँग माग गरेका छन्।