काठमाडौं – पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने भएका छन् । यसको औपचारिक घोषणा आज अपराह्न ३ बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजना हुने पत्रकार सम्मेलनमार्फत गरिने तयारी गरिएको छ । किराँती पक्षले यसलाई ‘पार्टी एकता’ को रूपमा व्याख्या गरेको छ । किराँतीको सचिवालयका एक सदस्यका अनुसार श्रम संस्कृति पार्टीसँग पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेको छ र त्यसबारे औपचारिक जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।
भोजपुरका सुदन किराँती पूर्वमाओवादी नेता हुन् । उनी यसअघि पर्यटन मन्त्रीसमेत बनेका थिए । जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरूको पहलमा नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि त्यसप्रति असहमति जनाउँदै किराँती प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका थिए ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा गठन गरिएको प्रलोपामा किराँती पाँच सदस्यीय अध्यक्ष परिषद्का सदस्य थिए । तर फागुन २१ गतेको निर्वाचनमा पार्टीले एक सिट पनि जित्न नसकेपछि प्रलोपा कमजोर बन्दै गएको छ । प्रलोपा अध्यक्ष परिषद्का अर्का सदस्य तथा रास्वपा छाडेर उक्त पार्टीमा गएका सन्तोष परियार पनि हाल पार्टीबाट अलग भइसकेका छन् ।
यता, श्रम संस्कृति पार्टी भने पछिल्लो निर्वाचनपछि संसदको पाँचौँ ठूलो दलको रूपमा स्थापित भएको छ । स्रोतका अनुसार निर्वाचनकै समयदेखि किराँती श्रम संस्कृति पार्टीका नेताहरूसँग सम्पर्कमा थिए र अहिले पार्टी एकताको चरणमा पुगेका हुन् ।





