काठमाडौँ– संवैधानिक निकायका पदाधिकारी नियुक्ति सिफारिसका लागि कानुनी बाटो खुलेसँगै प्रधान न्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा रहने परिषद् बैठक बिहीबार बेलुका ५ बजेका लागि बोलाइएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा भावी प्रधान न्यायाधीश सिफारिसको कार्यसूची रहेको छ ।
मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि गणपूरक सङ्ख्या र निर्णय प्रक्रियासम्बन्धी व्यवस्थाले पूर्णता पाएको थियो । कानुनी रिक्तता पूर्ति भएलगत्तै प्रधानमन्त्री शाहले परिषद् बैठक आह्वान गर्नुभएको हो । छ सदस्यीय परिषद्को अध्यक्षमा प्रधानमन्त्री र सदस्यमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रतिनिधि सभाका प्रमुख विपक्षी दलका नेता रहने संवैधानिक व्यवस्था छ । प्रधान न्यायाधीश सिफारिसको हकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।
यसअघिका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले उमेर हदका कारण चैत १७ गतेदेखि अनिवार्य अवकाश पाउनुभएको थियो । उहाँको अवकाशपछि कायममुकायम प्रधान न्यायाधीशका रूपमा सपना प्रधान मल्लले सर्वोच्च अदालतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । न्याय परिषद् सचिवालयले प्रधान न्यायाधीशका लागि योग्यता पुगेका छ जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो । सर्वोच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा गरेका न्यायाधीश प्रधान न्यायाधीशको उम्मेदवार बन्न सक्ने संवैधानिक व्यवस्थाअनुसार नाम पठाइएको हो ।
परिषद्मा पठाइएका नाममा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा,डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् । अहिलेसम्मको अभ्यासलाई निरन्तरता दिइएमा सपना प्रधान मल्लको नाम प्रधान न्यायाधीशमा सिफारिस हुने सम्भावना रहेको बताइएको छ । परिषद्मा सहमति हुन नसके प्रधानमन्त्री र अन्य दुई सदस्यको बहुमतबाट पनि निर्णय हुन सक्ने व्यवस्था छ ।
प्रधान न्यायाधीश सिफारिस भएपछि नियुक्तिपूर्व संसदीय सुनुवाइ हुनेछ । सुनुवाइ समितिले दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा सिफारिस भएका व्यक्ति नियुक्तिका लागि योग्य हुनेछन् ।






