अञ्जन श्रेष्ठ बने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अञ्जन श्रेष्ठको काँधमा आएको छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान व्यवस्था अनुसार उनी महासंघको अध्यक्ष बनेका हुन्। अध्यक्षको कार्यकाल तीन वर्षको रहनेछ।

महासंघ विधानको दफा २९ को उपदफा ३ अनुसार हाल कायम वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोही प्रावधानअनुसार श्रेष्ठ अध्यक्ष बनेका हुन्।

मंगलबार महासंघ कार्यकारिणी समितिको अध्यक्ष बाहेक पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनको अन्तिम नतिजा पनि सार्वजनिक भइसकेको छ।

महासंघमा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने श्रेष्ठ चौथो व्यक्ति हुन्। यसअघि भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल पनि सोही व्यवस्थाअनुसार अध्यक्ष बनेका थिए।

बुधबारदेखि अध्यक्ष घोषणा भएका श्रेष्ठ व्यावसायिक घराना लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन्। उनले अटोमोबाइल, सेवा, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन्।

२०५९ सालमा महासंघको कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका श्रेष्ठसँग विभिन्न समितिमा काम गरेको अनुभव छ। उनी महासंघको ५७औँ साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्