काठमाडौं । क्रिकेट खेल्ने क्रममा बारीमा गएको बल खोज्न जाँदा खरबुजा र काँक्रा चोरेको आरोपमा कञ्चनपुरमा ११ वर्षीय बालकमाथि निर्घात कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
घटना कञ्चनपुरको वेदकोट नगरपालिका–५ को हो। हातखुट्टा बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।
कुटपिटमा संलग्न आरोपमा वेदकोट–५ निवासी भोजनाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनलाई बिहीबार पक्राउ गरेर अनुसन्धान भइरहेको छ।
आरोपीविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कुटपिटबाट बालकको टाउकोमा चोट लागेको छ भने तीन वटा टाँका लगाइएको छ।






