डीएलएस नियममा यूएईमाथि नेपालको ६ रनको रोमाञ्चक जीत

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई डीएलएस नियमका आधारमा ६ रनले हराएको छ ।

वर्षाले प्रभावित खेलमा डीएलएस नियमअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रनमात्र बनाउन सक्यो । यूएईका मुहम्मद शाहदादले ६५ तथा खुजाइमा तनभीरले ४९ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २/२ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गर्दै ९४ बलमा १०० रन बनाएर रनआउट भए ।

यस्तै विनोद भण्डारीले ५६, गुल्सन झाले ४४ तथा कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए । यूएईका जुनैद सिद्दिकी र अजय कुमारले समान २/२ विकेट लिए ।

यो जितसँगै नेपालले ८ राष्ट्र सहभागी लिग-२ मा २३ खेलबाट १६ अङ्क जोड्दै तालिकाको सातौँ स्थान कायम गरेको छ । यूएई २३ खेलबाट १२ अङ्कसहित पुछारमा रहेको छ भने ओमान २६ खेलबाट ३१ अङ्कसहित तेस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्