काठमाडौं – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-टु श्रृंखलाअन्तर्गत नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौँस्थित त्रिवि क्रिकेट रङ्गशालामा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । यस श्रृंखलामा नेपालसँगै यूएई र ओमान सहभागी छन् । तीनै टोलीले एक–आपसमा दुई–दुई खेल खेल्ने तालिका रहेको छ ।
हालसम्मको प्रदर्शनअनुसार ८ टोलीमध्ये २० खेलमा ५ जित निकाल्दै १२ अङ्कसहित नेपाल सातौँ स्थानमा रहेको छ । यूएई २० खेलमा १० अङ्कसहित तालिकाको पुछारमा छ भने ओमान २४ खेलबाट २९ अङ्कसहित तेस्रो स्थानमा छ । अमेरिका २४ खेलमा ३६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ ।
नेपालले यसपछि स्कटल्यान्ड र अमेरिकासमेत सहभागी अर्को श्रृंखला खेल्नेछ । यस श्रृंखलाका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान छन् भने विनोद भण्डारीले पुनरागमन गरेका छन् । अर्जुन कुमाल पहिलोपटक राष्ट्रिय टोलीमा समेटिएका छन् ।






