काठमाडौं – आज देशभर विभिन्न कार्यक्रम गरी २०औँ लोकतन्त्र दिवस मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरूको मार्गचित्रअनुसार विघटित संसद् पुनर्स्थापना गरेपछि नागरिकको जित भएको दिनको सम्झनामा २०६४ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
२०६१ साल माघ १९ गते राजाले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । त्यसपछि २०६२ मङ्सिरदेखि जनआन्दोलनले तीव्रता पाएको थियो । अन्ततः वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरिएको थियो ।
त्यसपछि २०६३ जेठ ४ गते बसेको संसद्ले राजाको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचन गर्ने सङ्कल्प पारित गरेको थियो । यही प्रक्रियाअनुसार २०६४ चैत २८ गते पहिलो संविधानसभा चुनाव सम्पन्न भयो ।
२०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गर्यो । त्यसपछिको राजनीतिक यात्रामा २०७२ असोज ३ गते नयाँ संविधान जारी भई संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको हो ।
हाल संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहका सरकारमार्फत शासन सञ्चालन भइरहेको छ । लोकतन्त्र स्थापना पछिका दुई दशकमा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ । यही ऐतिहासिक उपलब्धिको स्मरणमा वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाइँदै आएको हो ।






