काठमाडौं – शेखर गोल्छालाई प्रहरीले धितोपत्रसम्बन्धी कसुरमा पक्राउ गरेको छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले गोल्छालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रतिवेदनमा ब्रोकरहरूसँगको मिलेमतोमा कृत्रिम रूपमा सेयर मूल्य बढाउने चलखेलमा उनको संलग्नता देखिएको उल्लेख छ।
हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष समेत रहेका गोल्छामाथि धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत विभिन्न दफामा कसुर गरेको आरोप लागेको छ। काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई नक्सालबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार अदालतको पुर्जीका आधारमा हिजो उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ। गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पनि हुन्। यस प्रकरणमा विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको संलग्नतामा सेयर कारोबारमा मिलेमतो भएको आशंका गरिएको छ। धितोपत्र बोर्डको जाँच प्रतिवेदनमा गोल्छासहित ६ जनामाथि अनुसन्धान भइरहेको जनाइएको छ।






