थापाथलीका अतिक्रमित बस्ती खाली गर्न सुरक्षाकर्मीको आग्रह

काठमाडौं – काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरू खाली गर्न सुरक्षाकर्मीले माइकिङमार्फत बासिन्दालाई अन्यत्र सर्न आग्रह गरेका छन् ।

हिजो बेलुका नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले सूचना जारी गर्दै वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गरिने जानकारी दिएको हो । सोअघि नै सुरक्षित रूपमा स्थानान्तरण हुन अनुरोध गरिएको छ ।

सूचनामा वास्तविक भूमिहीनहरूको लगत संकलन गरी आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख छ । साथै अपाङ्गता भएका व्यक्ति, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकताका साथ सुरक्षित रूपमा सार्न सरकारको आग्रह छ । आवश्यक परे सुरक्षाकर्मीको सहयोग लिन पनि अनुरोध गरिएको छ ।

यसअघि २०७९ साल मंसिर १२ गते पनि काठमाडौँ महानगरपालिकाले सो क्षेत्रमा डोजर चलाउँदा स्थानीयसँग झडप भएको थियो । त्यसपछि मुद्दा अदालतसम्म पुगेको थियो । उच्च अदालत पाटनले २०८० साउनमा योजना निर्माण गर्न र लगत संकलन तथा प्रमाणीकरण गर्न निर्देशन दिएको थियो । तर सो काम अझै पूर्ण रूपमा सम्पन्न भएको छैन ।

महानगरबाट भूमि समस्या समाधान आयोगमा हालसम्म ५६ जनाको मात्रै निवेदन परेको छ । तीन वर्षअघि तयार प्रतिवेदनअनुसार काठमाडौँ महानगरभित्र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या दुई हजार दुई सय ४५ रहेको उल्लेख छ । यसैबीच, सरकारको १०० दिने कार्यसूची र राजनीतिक प्रतिबद्धताविपरीत बस्ती खाली गराउन खोजिएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्