डा. पुडासैनीको क्यान्सरसँगको संघर्षबाट जन्मिएको कृति ‘कालो आँधी’ बजारमा

काठमाडौं– चर्चित बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’को नयाँ कृति ‘कालो आँधी’ बजारमा आएको छ। अस्तित्ववादी मनालाप शैलीमा लेखिएको यो कृति जीवन र मृत्युसँगको सङ्घर्षबीच जन्मिएको भावनात्मक अभिव्यक्ति हो। नाक-घाँटीसम्बन्धी क्यान्सरबाट पीडित हुँदा भोगेका शारीरिक तथा मानसिक यातनाबीच लेखक पुडासैनीले उपचारकै क्रममा यो कृति सिर्जना गर्नुभएको हो। रेडियोथेरापी र किमोथेरापीका कठोर प्रभावका बाबजुद पनि उहाँले जीवनप्रतिको आशा र संघर्षलाई शब्दमा उतार्न सफल हुनुभएको छ।

कृतिको भूमिका समालोचक नेत्र एटमले लेख्नुभएको छ। उहाँका अनुसार “कालो आँधी” अनुभूति गराउन रचिएको कृति हो, जसले मृत्युको सन्निकट अवस्थाबाट जीवनलाई गहिरो रूपमा पुनरावलोकन गर्छ। प्रकाशक रत्न पुस्तक भण्डारले यस कृतिलाई जीवनसंघर्ष, पीडा र आशाको सशक्त अभिलेखका रूपमा प्रस्तुत गरेको छ। क्यान्सरजस्तो गम्भीर रोगसँग जुध्दै लेखिएको यो पुस्तकले व्यक्तिगत पीडालाई मात्र नभई समाज, मान्छे र जीवनप्रतिको दार्शनिक दृष्टिकोणलाई पनि उजागर गरेको प्रकाशकको भनाइ छ।

स्वयं लेखक पुडासैनीले “कालो आँधी”लाई जीवन र मृत्युको मझधारबाट लेखिएको मनको आलाप भन्दै यसमा समाज, अस्तित्व र मानवीय मूल्यहरूको गहिरो विश्लेषण गरिएको उल्लेख गर्नुभएको छ। यो कृति उहाँको २१औँ प्रकाशन हो। यसअघि उहाँका कविता, नियात्रा, दर्शन तथा व्यवस्थापनसम्बन्धी कृतिहरू प्रकाशित भइसकेका छन्। “कालो आँधी” प्रकाशनसँगै नेपाली साहित्यमा अस्तित्ववादी मनालाप विधामा नयाँ आयाम थपिएको मानिएको छ।

प्रकाशकका अनुसार पुस्तक पहिलो दिनमै उल्लेख्य रूपमा बिक्री भएको छ र देशभरका प्रमुख बजारमा उपलब्ध भइसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्