बर्दिया – एम्बुलेन्सको ठक्करबाट बर्दियामा दुई जना पैदलयात्रुको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज बिहान करिब सवा ५ बजे सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको हो ।
दुर्घटनामा गुलरिया नगरपालिका-५ निवासी ५५ वर्षीय भूमिराज लामिछाने र उनका ८ वर्षीय नाति रिहान्स खरेलको ज्यान गएको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै दुर्घटनामा परेर भूमिराजकी श्रीमती सीता लामिछाने र स्थानीय बासिन्दा सूर्य उपाध्याय घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।







