काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरु गरिएको प्रष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्रीद्वयले पछिल्लो समय “क्रियाशील सदस्यता खारेज हुँदैछ” भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य र भ्रामक प्रचार भएको बताएका छन् ।
महामन्त्रीद्वयले यस अभियानले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। नवीकरण प्रक्रियाले पार्टीभित्र अनुशासन, उत्तरदायित्व र एकता थप सुदृढ हुने पनि महामन्त्रीद्वयले उल्लेख गरेका छन् ।
विगतका अनुभवबाट सिक्दै यसपटक सदस्यता व्यवस्थापनमा प्रविधिको प्रयोग र प्रक्रियागत सुधार गरिएको पनि उनीहरूले स्पष्ट पारेका छन् ।
महामन्त्रीद्वयले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता अद्यावधिक गर्न तथा नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।







