काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलसँग कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको उल्लेख गरिएको छ । विवरणअनुसार काठमाडौँमा तीन आना क्षेत्रफलमा बनेको अढाई तले घर (मूल्य ४ करोड रुपैयाँ), मूलपानीमा ६ आना जग्गा (५ करोड रुपैयाँ) र मोरङमा १ कठ्ठा जग्गा (१ करोड रुपैयाँ) मन्त्री पोखरेलको नाममा रहेको छ ।
पारिवारिक सम्पत्तितर्फ उनका बुवाको नाममा काठमाडौँमा साढे २ करोड मूल्य बराबरको घडेरी रहेको छ भने आमाको नाममा गोदावरी र गोकर्णेश्वरमा गरी झन्डै ३ करोड रुपैयाँ बराबरको जग्गा रहेको देखाइएको छ । साथै परिवारकै नाममा गोदावरीमा ११ रोपनी ४ आना जग्गा (५ करोड रुपैयाँ) रहेको उल्लेख छ । मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी गरी करिब ७५ लाख रुपैयाँ बराबरको बहुमूल्य धातु रहेको छ भने २५ हजार रुपैयाँ नगद रहेको उल्लेख गरिएको छ ।
बैंक मौज्दाततर्फ विभिन्न बैंकमा गरी ४ लाख ४८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, परिवारको नाममा विभिन्न कम्पनीमा १ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख गरिएको छ । सवारी साधनतर्फ बुवाको नाममा करिब ७० लाख रुपैयाँको ईभी कार र मन्त्री पोखरेलको नाममा झन्डै ४० लाख रुपैयाँको अर्को कार रहेको छ । साथै उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि जनाएका छन् ।
यी सम्पूर्ण सम्पत्ति र दायित्व समेटेर मन्त्री पोखरेलले आफ्नो कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको खुलाएका हुन् ।







