काठमाडौं । राइड शेयरिङका क्रममा महिला यात्रीलाई लक्षित गरी अभद्र भिडियो बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार काठमाडौंको भगवती बाहल मन्दिर नजिकै मोटरसाइकलमा सवार महिलालाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो खिची सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
ती युवकले महिलाको मर्यादा र प्रतिष्ठामा आँच आउने किसिमका क्याप्सन प्रयोग गरी भिडियो पोस्ट गरेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले पीडित पक्षलाई सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । साथै नेपाल प्रहरी ले सामाजिक सञ्जाल प्रयोग गर्दा अरूको मर्यादा र प्रतिष्ठामा असर पर्ने सामग्री निर्माण तथा प्रकाशन नगर्न सर्वसाधारणलाई सचेत गराएको छ ।







