काठमाडौं – सरकारी बोलपत्रको सूचना अब दैनिक पत्रपत्रिकामा प्रकाशन गर्न नपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले तयार पारेको सार्वजनिक खरिद ऐन संशोधन विधेयकको मस्यौदामा विद्युतीय माध्यमबाट हुने बोलपत्रको सूचना अन्य माध्यममा प्रकाशन गर्न नपर्ने प्रस्ताव गरिएको हो ।
हाल ऐनको दफा १४ (१) अनुसार बोलपत्र वा पूर्वयोग्यता निर्धारणको सूचना राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ । अन्तर्राष्ट्रिय बोलपत्रको हकमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन गर्न सकिने प्रावधान छ । तर प्रस्तावित संशोधनमा ‘विद्युतीय खरिद प्रणाली’ मार्फत आह्वान गरिएको बोलपत्रको सूचना सोही प्रणालीमै सीमित हुने र अन्य माध्यममा प्रकाशन गर्न नपर्ने उल्लेख गरिएको छ ।
अहिले अधिकांश बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालय को वेबसाइटमार्फत सार्वजनिक हुँदै आएका छन् । प्रस्ताव कार्यान्वयन भए पत्रपत्रिकामा छापिने बोलपत्रसम्बन्धी विज्ञापन अन्त्य हुने देखिएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले सरकारी सूचनाहरू सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन गर्न परिपत्र गरेपछि निजी सञ्चारमाध्यम प्रभावित भएका छन् ।
उक्त निर्णयविरुद्ध सञ्चारसम्बद्ध संघ-संस्थाहरूले सर्वोच्च अदालत मा रिट दायर गरेका छन्, जसमा अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ ।







