ललितपुर – कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दाजुभाइको हत्या भएको छ । प्रहरीका अनुसार ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको ज्यान गएको हो । गम्भीर घाइते अवस्थामा उनीहरूलाई बीएन्डबी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
घटनामा संलग्न मुख्य अभियुक्त सञ्जीव नेपालीसहित ५ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार हिजो बेलुकी नेम्बाङ दाजुभाइले फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा कल पुगेको थियो । नचिनेको नम्बरबाट सुरु भएको सामान्य कुराकानी पछि विवादमा परिणत भएको थियो ।
त्यसपछि सञ्जीवले उनीहरूलाई पाटन बोलाएको र इमाडोलबाट पुगेका नेम्बाङ दाजुभाइमाथि मासु पसलमा प्रयोग हुने धारिलो हतियारले आक्रमण गरेको ललितपुर प्रहरीले जनाएको छ । सञ्जीव मासुपसलमा काम गर्ने व्यक्ति हुन् ।







