काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो र परिवारको सम्पत्तिबारे भ्रामक तथा झूटा प्रचार भइरहेको दाबी गर्नुभएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको विषयमा सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै देउवाले सञ्चारमाध्यमबाट उक्त जानकारी पाएको उल्लेख गर्नुभयो । “मेरो र मेरो परिवारको सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झूटा प्रचारबाजी भइरहेको छ,” उहाँले भन्नुभएको छ ।
हाल आफूहरू स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै देउवाले वास्तविकता समयक्रमसँगै स्पष्ट हुने बताउनुभएको छ । “अतिरञ्जित विवरणबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु,” उहाँले उल्लेख गर्नुभएको छ ।
यता, गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको जनाइएको छ ।
देउवाले आफ्नो वक्तव्यमा सार्वजनिक पदमा रहँदा आफू र आफ्नी पत्नीले सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गर्दै आएको दाबी गर्नुभएको छ । साथै लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका लागि जीवनभर संघर्ष गरेको पनि उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो कार्यकालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी कानुन तथा भ्रष्टाचार निवारणसम्बन्धी ऐन लागू गरिएको पनि स्मरण गर्नुभएको छ ।







