काठमाडौं – सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्ने प्रस्ताव राख्नेछन् । यसअघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची पनि रहेको छ । साथै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, राष्ट्रियसभा को बैठक अपराह्न १ः१५ बजे बस्नेछ । उक्त बैठकमा प्रधानमन्त्री शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।







