काठमाडौं । अमेरिका र इरान बीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गर्नुभएको छ । ट्रम्पले सामाजिक सञ्जाल Truth Social मार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति भएको उल्लेख गर्दै यसलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार इजरायल पनि आक्रमण रोक्न सहमत भएको छ । यो निर्णय पाकिस्तान का प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिर सँगको छलफलपछि लिइएको ट्रम्पले बताएका छन् ।
ट्रम्पले युद्धविराम सशर्त रहेको स्पष्ट गर्दै स्ट्रेट अफ होर्मुज समुद्री मार्ग खोल्नुपर्ने उल्लेख गर्नुभएको छ । “यो दुई पक्षीय युद्धविराम हुनेछ, यस अवधिमा दुवै पक्षले आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ,” ट्रम्पले भनेका छन् । उहाँले अमेरिकी सैन्य लक्ष्यहरू पूरा भइसकेको दाबी गर्दै इरानबाट १० बुँदे शान्ति प्रस्ताव प्राप्त भएको र अधिकांश महत्वपूर्ण विषयमा प्रारम्भिक सहमति भइसकेको उल्लेख गर्नुभएको छ ।
युद्धविराम घोषणापछि ह्वाइट हाउसले पनि प्रतिक्रिया दिँदै वार्ता प्रक्रिया जारी रहने जनाएको छ । प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार आगामी दिशा राष्ट्रपति ट्रम्पको निर्णयले तय गर्नेछ र अब थप कूटनीतिक संवाद अघि बढ्नेछ । आगामी वार्ता पाकिस्तानमा हुने बताइएको छ । दुई साताको यो समयावधिले दुवै पक्षलाई दीर्घकालीन शान्ति सम्झौतामा पुग्न सहज बनाउने अपेक्षा गरिएको छ, यद्यपि ठोस परिणाम आउनेबारे अन्तर्राष्ट्रिय समुदायको चासो कायमै रहेको छ ।







