काठमाडौं । नेप्से परिसूचक मा आज उल्लेखनीय सुधार देखिएको छ । हिजो १०५ अङ्कले घटेको बजार आज ८३ दशमलव ३३ अङ्कले उकालो लाग्दै २ हजार ७६० दशमलव ०२ विन्दुमा पुगेको छ ।
बजार वृद्धिको मुख्य कारण अर्थमन्त्री डा. स्वर्णिम वाग्ले को अभिव्यक्तिलाई मानिएको छ । उहाँले सरकार शेयर बजारप्रति सकारात्मक र उदार रहेको संकेत दिनुका साथै आज स्टक ब्रोकर एशोसिएसन लगायत सरोकारवालासँग छलफल गर्नुभएको थियो ।
आज कारोबारमा सहभागी सबै समूहका सूचक हरियो देखिएका छन् । विशेषगरी फाइनान्स र जलविद्युत् समूह ४ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र लगानी समूहका सूचकहरू ३ प्रतिशतभन्दा माथि उक्लिएका छन् ।
व्यक्तिगत कम्पनीतर्फ अधिकांश शेयरमा वृद्धि देखिएको छ । २६४ कम्पनीको शेयर मूल्य बढ्दा केवल ३ कम्पनीमा गिरावट आएको छ भने सृजनशील लघुवित्त को शेयर स्थिर रह्यो ।
उच्च वृद्धि हुने कम्पनीहरूमा उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर, नेपाल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन रहेका छन्, जसको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
तर बजार बढेको दिन पनि केही उपकरणमा गिरावट देखियो । विशेषगरी लक्ष्मी बैंक को डिबेन्चर २०८८ सबैभन्दा धेरै ३ दशमलव १० प्रतिशतले घटेको छ ।
यद्यपि सूचक बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १२ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४५ कम्पनीका २ करोड ५१ लाख कित्ता शेयर १० अर्ब ९२ करोड रुपैयाँमा किनबेच भएको छ ।







