कञ्चनपुर – पत्रकार खेम भण्डारीलाई गाली बेइज्जती (मानहानी) तथा प्रतिष्ठाको कसुरमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले समेत दोषी ठहर गरेको छ । पत्रकार भण्डारीलाई गाली बेइज्जती (मानहानी) मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत कञ्चनपुरले जेठ १ गते सुनाएको एक महिना कैद, एक लाख रुपैयाँ जरिवाना र १० हजार रुपैयाँ क्षतिपूर्तिमा आज उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले उक्त फैसला आंशिक रूपमा संशोधन गर्दै कैद सजायमा ७ दिन थप गरेको छ । सूचना अधिकारी गणेश प्रसाद भट्टका अनुसार अब कुल कैद अवधि १ महिना ७ दिन कायम भएको छ । यस्तै, एक लाख रुपैयाँ जरिवाना यथावत राखिएको छ भने क्षतिपूर्ति रकम समेत १० हजारमा थप २ हजार १०० रुपैयाँ समेत तोकेको छ ।
अदालतका अनुसार खेम भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन रूपमा विभिन्न व्यक्तिहरूमाथि आरोप लगाउँदै आएका थिए । उक्त प्रकरणमा पूर्व एसएसपी तथा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरणराज विष्टलाई समेत जोडेर सामाजिक सञ्जाल तथा समाचारमार्फत अभद्र तथा बेइज्जतीपूर्ण सामग्री सार्वजनिक गरेको ठहर गरिएको थियो ।
सोही आधारमा किरणराज विष्टले भण्डारीविरुद्ध उच्च अदालतमा भाद्र २६ गते पुनराबेदन दिएका थिए । अदालतमा प्रस्तुत प्रमाणअनुसार भण्डारीले सामाजिक सञ्जालको दुरुपयोग गर्दै व्यक्तिगत प्रतिष्ठामा आघात पुग्ने सामग्री प्रकाशन गरेको पुष्टि भएको जनाइएको छ । वि.सं. २०७५ साउन १० गते कञ्चनपुरको महेन्द्रनगरस्थित उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । भोलिपल्ट साउन ११ गते उनी घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् ।







