काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली परिचालन गरी ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गुण्डागर्दी गर्दै समूह विस्तार गर्न थालेका ५ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा श्याम लामा समूहमा आबद्ध ‘डिम्पल’ भनिने प्रवीण तामाङ, कलंकी–बाफल क्षेत्रमा सक्रिय बिर्जु महर्जन, कलंकी बस टिकट काउन्टर–पेट्रोल पम्प क्षेत्रमा गुण्डागर्दी गर्ने सुजन कार्की, स्युचाटार क्षेत्रमा समूह बनाउँदै आएका सरू हुमागाईं र बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न बिकी लामा रहेका छन्।
त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि थप १३ जनालाई पक्राउ गरेको छ। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रमा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई रातभर सञ्चालन गरिएको अपरेसनमार्फत नियन्त्रणमा लिइएको हो। प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ। साथै राजधानीमा आपराधिक गतिविधि नियन्त्रणका लागि यस्ता अपरेसनलाई निरन्तरता दिने पनि जनाएको छ।







