काठमाडौँ – प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले दिएको विवादित अभिव्यक्तिपछि नेकपा एमालेभित्र तरंग उत्पन्न भएको छ। संसद् सम्बोधनका क्रममा थापाले नेपाली सेना, कर्मचारीतन्त्र तथा विदेशी निकायसम्मलाई लक्षित गर्दै निर्वाचन परिणामप्रति गम्भीर शंका व्यक्त गरेका थिए। उनले जनताको अभिमतबाट आएको परिणामसमेत षड्यन्त्र र विभिन्न निकायहरूको मिलेमतोको परिणाम भएको संकेत गरेका थिए, जुन पार्टीको स्थापित नीति र अडानसँग बाझिएको भन्दै एमालेकै नेताहरूले आपत्ति जनाएका छन्।
थापाको अभिव्यक्तिपछि एमालेले च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार दिउँसोका लागि सचिवालयको आकस्मिक बैठक बोलाएको छ। बैठकमा उक्त विषयमा गम्भीर छलफल हुने जनाइएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत थापाको भनाइ पार्टीको नीति विपरीत रहेको उल्लेख गर्दै सचिवालय बैठकमा आवश्यक निर्णय गरिने बताएका छन्। त्यसअघि उपमहासचिव योगेश भट्टराईले पनि सार्वजनिक रूपमा थापाको अभिव्यक्तिको खण्डन गर्दै नेपाली सेना, न्यायालय तथा संवैधानिक निकायप्रति पार्टीको सम्मान र विश्वास यथावत रहने स्पष्ट पारेका थिए।
बुधबार मात्रै संसदीय दलको नेता चयन भएका थापाले संसद् सम्बोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई ‘षड्यन्त्रपूर्ण’ भन्दै विभिन्न आन्तरिक तथा बाह्य शक्तिको संलग्नता रहेको आरोप लगाएका थिए। उनले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारलाई समेत सन्दर्भ जोड्दै टिप्पणी गरेका थिए।
पार्टीभित्रैबाट विरोध हुन थालेपछि एमालेले अब उक्त अभिव्यक्तिबारे औपचारिक समीक्षा गर्ने तयारी गरेको छ। नेताहरूका अनुसार निर्वाचन प्रक्रिया निष्पक्ष भएको पार्टीको आधिकारिक धारणा रहेको अवस्थामा त्यसविपरीत अभिव्यक्ति आउनु गम्भीर विषय भएकाले आकस्मिक बैठकमार्फत निष्कर्ष निकालिनेछ।







