काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको कारण देखाउँदै चैत १९ गते बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकामा अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ।
निगमले मध्यपूर्वमा भइरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ्दै गएको उल्लेख गर्दै पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको जनाएको छ।







