प्रतिनिधिसभामा तीन अध्यादेश पेश

तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्नुभएको छ। सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीअन्तर्गत ‘नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश २०८२’ पेश गरिएको हो।

सरकारले नेपालको संविधानको धारा ८४(२) अनुसार समानुपातिक प्रतिनिधित्वका लागि आवश्यक जनसङ्ख्याको आरक्षण सुनिश्चित गर्न कानुनी व्यवस्था संशोधन गरेको जनाएको छ। साथै प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनले पनि सम्बन्धित अध्यादेश ल्याइएको उल्लेख गरिएको छ।

यस्तै, गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालय मातहत ल्याउने उद्देश्यले ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी गरिएको जानकारी दिनुभयो। बैठकले संविधानसभा सदस्य तथा पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताब आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा संविधानसभा एवं राष्ट्रियसभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्तावसमेत पारित गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने तय गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्