भारत – इन्डियन प्रिमियर लिग क्रिकेटमा पञ्जाब किङ्सले विजयी सुरुवात गरेको छ। न्यु चन्डीगढमा हिजो भएको खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले हराएको हो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।
१६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर १ बलमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। उसका कूपर कोनोलीले डेब्यूमै उत्कृष्ट प्रदर्शन गर्दै अविजित ७२ रन बनाए।
गुजरात टाइटन्सले सन् २०२२ मा एक पटक उपाधि जितेको छ भने पञ्जाब किङ्स अहिलेसम्म उपाधिविहीन रहेको छ। अघिल्लो संस्करणमा पञ्जाब उपविजेता बनेको थियो।
आईपीएल अन्तर्गत आज लखनउ सुपर जायन्ट र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे लखनउमा हुनेछ।






