काठमाडौँ- विपी राजमार्ग हिजो बेलुकादेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। भकुण्डे-नेपालथोक खण्डमा परेको भारी वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न सबैलाई आग्रह गरिएको छ। यसअघि पनि गत शुक्रबार रोशी खोलामा आएको बाढीका कारण दुई दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो।
गत वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडा-नेपालथोक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि हाल उक्त क्षेत्रमा खोलाबाटै अस्थायी सडक तथा डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको थियो।







