गएको फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका-इजरायल र इरानबीच युद्ध सुरु भएयता ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ। ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’को प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अहिलेसम्म ४ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको छ। सबैभन्दा बढी क्षति इरानमा भएको छ, जहाँ २३६ बालबालिका र १ हजार ५४७ सर्वसाधारणसहित कुल ३ हजार ४९२ जनाको मृत्यु भएको बताइएको छ। इजरायलमा ‘म्यागेन डेभिड एडोम’का अनुसार मिसाइल आक्रमणमा १९ जनाको ज्यान गएको छ। यस्तै लेबनानमा १२४ बालबालिकासहित १ हजार २४७ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने ९ जना इजरायली सैनिक पनि मारिएका छन्।
खाडी क्षेत्रका संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान, साउदी अरेबिया र बहराइनमा समेत कम्तीमा २४ जनाको ज्यान गएको छ, जसमा अधिकांश सुरक्षा बलका सदस्य वा विदेशी कामदार रहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार युद्ध बहुआयामिक बन्दै गएको छ र इजरायल, इरान तथा तिनका सहयोगी शक्तिबीचको प्रत्यक्ष–अप्रत्यक्ष भिडन्तले क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती थपिएको छ। दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाहसँगको संघर्षमा इजरायलका चार सैनिक मारिएको पुष्टि गरिएको छ।
युद्धको प्रभाव इराकसम्म फैलिएको सङ्केत देखिएको छ। पपुलार मोबिलाइजेसन फोर्सेज (पीएमएफ) ले अमेरिका–इजरायल संयुक्त हवाई आक्रमणबाट आफ्ना सैन्य अड्डा लक्षित भएको दाबी गरेको छ। यसैबीच दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमा आगलागी भएको छ, जसलाई कुवेतले इरानबाट भएको आक्रमणको परिणाम बताएको छ। साथै संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (युनिफिल)ले दक्षिणी लेबनानमा भएको विस्फोटमा दुई शान्ति सैनिक मारिएको पुष्टि गरेको छ।
ऊर्जा आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ हर्मुज पनि प्रभावित भएको छ, जहाँ आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने योजना इरानले अघि बढाएको छ। जी–७ राष्ट्रहरूले ऊर्जा बजार स्थिर राख्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चाँडै सम्झौता नभए कडा सैन्य कदम चाल्ने चेतावनी दिएका छन्, जसले युद्ध थप चर्किने संकेत देखाएको छ।






