दार्चुलामा जीप दुर्घटना, सब-इन्जिनियरसहित दुईको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलस्थित देखालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मंगलबार बिहान ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र सोही कार्यालयका कर्मचारी भरत तितरोको घटनास्थलमै मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख गौरब महतले जानकारी दिएका छन्। योजना अनुगमनका लागि गएको उक्त जीप बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–४ का अकबर महर, गाडीधनी विक्रम महर, चालक प्रकाश ठगुन्ना तथा मालिकार्जुन गाउँपालिका–५ डाँडाकोटका मिनबहादुर पाल घाइते भएका छन्। घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालयबाट खटिएको टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान कार्य अघि बढाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्