काठमाडौँ – मुग्लिङ-मलेखु सडकखण्ड आजदेखि तीन दिनसम्म रातिको समयमा बन्द हुने भएको छ। यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६को घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन राति सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।
मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड)का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइनेछ।
यस अवधिमा थप उपकरण प्रयोग गरी भित्ता कटिङको काम तीव्र गतिमा अघि बढाइने सडक योजनाले जनाएको छ।







