काठमाडौँ – चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नेपाल व्यापार संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ। खिचापोखरी न्यूरोड, काठमाडौँमा रहेको सहकारी संस्थाले कार्यालयमा एक कार्यक्रमकाबिच सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष गिरिराज पोखरेलको नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गर्नुभयो। कार्यक्रममा अध्यक्ष श्रेष्ठले नयाँ कार्यसमितिले व्यापार तथा व्यवसाय क्षेत्रको हकहित संरक्षण, व्यवसायीहरूबीच एकता अभिवृद्धि तथा संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले निजी क्षेत्रको सुदृढीकरणका लागि सहकारी र व्यापारिक संस्थाहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा संयुक्त रूपमा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। सो अवसरमा नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेलले सम्मानप्रति आभार व्यक्त गर्दै संस्थालाई थप सशक्त, प्रभावकारी र सदस्य केन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा अध्यक्ष गिरिराज पोखरेलसहित बरिष्ठ उपाध्यक्ष जयकृष्ण शर्मा, प्रथम उपाध्यक्ष पार्वती पौडेल भट्ट, उपाध्यक्ष दिपक सापकोटा, उपाध्यक्ष किशोर कुमार गौतम, चिफ बहादुर थापा, निरन्जन सेढाइ, महासचिव ज्योति कुमार श्रेष्ठ, उपमहासचिव दिपक प्रसाद सापकोटा, सचिव उद्धव प्रसाद गौतम, सचिव प्रविन बगाले लगायत अन्य पदाधिकारीहरुलाई सम्मान गरेको थियो ।






