काठमाडौँ – कर्णाली प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी आर्थिक वर्षको विकास बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा सांसदहरूले कर्णालीको समग्र विकासका लागि विशेष बजेट विनियोजन आवश्यक रहेकोमा जोड दिएका हुन्।
सल्यानबाट निर्वाचित सांसद रमेश कुमार मल्लले भेटका क्रममा आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिनुपर्ने विषय उठाइएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेशको शासकीय सुधार, भौतिक पूर्वाधार निर्माण, जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण, तथा मनसुन पूर्व तयारीजस्ता विषयमा विस्तृत छलफल भएको थियो।
सांसदहरूले कर्णाली, भेरी र राप्ती करिडोर अन्तर्गतका सडक आयोजनालाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउँदै मध्यपहाडी, मदन भण्डारी तथा लुम्बिनी-रारा लोकमार्ग निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए।
यस्तै स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता वृद्धि, मातृ तथा शिशु पोषण सुधार, दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धानलाई गति दिने, तथा वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापनमा ठोस योजना आवश्यक रहेको धारणा पनि सांसदहरूले राखेका छन्। साथै सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, शिक्षा, वन तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्नुपर्ने माग गरिएको छ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले कर्णाली प्रदेशलाई आगामी बजेटमा न्यायोचित रूपमा सम्बोधन गर्ने, आवश्यक विकास योजनाहरूलाई शीघ्र कार्यान्वयनमा लैजान समन्वय गर्ने तथा चालु आर्थिक वर्षमै शासकीय सुधारमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको सांसद मल्लले जानकारी दिनुभयो। भेटघाट तथा संवादका लागि कर्णालीका सांसदहरूले प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गरेका छन्।






