काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली अन्त्य गर्दै आवेदन दिएको दिनमै स्वीकृति दिने निर्णय गरेको छ। यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो। श्रममन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले यो निर्णय गरेको मन्त्रालयले जनाएको छ।
यससँगै, पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल बनाइने भएको छ। तालिम पाठ्यक्रममा आधारित श्रव्य–दृश्य सामग्री तयार गरी अनलाइनमार्फत उपलब्ध गराइनेछ भने अभिमुखीकरण तालिम पनि पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गराउने अभियान सञ्चालन गर्ने, न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने र श्रमिकको हक–हित सुनिश्चित गर्ने निर्णयसमेत गरेको छ। साथै, श्रमाधान कल सेन्टरलाई थप व्यवस्थित बनाउने, औद्योगिक प्रतिष्ठानहरूमा जोखिम मूल्याङ्कन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने तथा आन्तरिक रोजगारी सिर्जनामा जोड दिने योजना अघि सारिएको छ।
बैठकले थप पाँच देशसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, न्यूनतम ज्याला, कार्य वातावरण र स्वास्थ्य सुरक्षाको अवस्था अध्ययन गरी न्यूनतम मापदण्ड तय गर्ने विषयमा पनि छलफल गरेको छ। साथै, सीप विकास तालिम, निजी क्षेत्रसँग सहकार्यमा सीप मेला सञ्चालन, सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने योजना मन्त्रालयले अघि सारेको छ।






