काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अदालतमा माग गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेका अनुसार दुवै जनालाई म्याद थपका लागि अदालतमा पेस गरिएको हो।
म्याद थपसम्बन्धी निवेदनमाथि आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ। स्वास्थ्य अवस्थाका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित गराइएको छ।
अदालतमा पेस भएको निवेदनमाथि आज नै सुनुवाइ हुने जनाइएको छ। दुवै पक्षका कानुन व्यवसायीहरूको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा इजलासले निर्णय दिनेछ।






