काठमाडौँ – नेपाल व्यापार संघको चैत्र ७ गते सम्पन्न १७औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक तथा बधाई–शुभकामना कार्यक्रम शनिबार होटल पौवामा सम्पन्न भएको छ। नवनिर्वाचित अध्यक्ष गिरिराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष हरि गौतमले नवनिर्वाचित अध्यक्ष पोखरेललाई औपचारिक रूपमा पद हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा निवर्तमान अध्यक्ष गौतमलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष जयकृष्ण शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नवनिर्वाचित उपमहासचिव जगन्नाथ खनालले ३३औँ साधारण सभा तथा १७औँ अधिवेशनबारे समिक्षा प्रस्तुत गर्नुभएको थियो। नवनिर्वाचित अध्यक्ष गिरिराज पोखरेलले सम्पूर्ण पदाधिकारीहरूलाई खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूबीच परिचयात्मक कार्यक्रम समेत सम्पन्न भएको थियो।

बैठकले कुमार कार्कीलाई सल्लाहकार सभापतिमा चयन गर्ने निर्णय गरेको छ भने सल्लाहकार सदस्यहरू समेत चयन गरिएको छ। साथै आगामी वर्षका लागि वार्षिक भित्तेपात्रो प्रकाशन, संघको डायरी निर्माण, कानुनी तथा प्रेस सल्लाहकार नियुक्ति, कार्यालयको आधिकारिक वेबसाइट निर्माण, कार्यालय व्यवस्थापन, डिजिटल स्मार्ट कार्ड निर्माण तथा अभिलेखीकरण प्रणाली व्यवस्थित गर्ने लगायतका महत्वपूर्ण एजेण्डामाथि छलफल गरिएको छ।

कार्यक्रममा अध्यक्ष गिरिराज पोखरेलले संघको आगामी कार्ययोजना प्रस्तुत गर्दै संस्थालाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको बताउनुभयो। व्यापारी तथा व्यवसायीहरूलाई एकसूत्रमा बाँध्दै उनीहरूको हकहितका लागि सधैं कटिबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले नेपाल व्यापार संघलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित सशक्त, समन्वयात्मक र परिणाममुखी ढंगले नेतृत्व प्रदान गर्ने बताउनुभयो।
साथै कार्यक्रममा निवर्तमान अध्यक्ष हरि गौतमले नवनिर्वाचित अध्यक्ष गिरिराज पोखरेललाई, निवर्तमान महासचिव दिपक सापकोटाले नवनिर्वाचित महासचिव ज्योति कुमार श्रेष्ठलाई तथा कोषाध्यक्ष चिफ बहादुर थापाले नवनिर्वाचित कोषाध्यक्ष देवराज कार्कीलाई प्रशासनिक कागजात तथा लेखाजोखासम्बन्धी फाइल औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।

यसैबीच नेपाल व्यापार संघको विभागीय समितिका संयोजक तथा सदस्यहरू समेत चयन गरिएको छ। जसअनुसार बजार अनुगमन तथा कार्यालय व्यवस्थापन समिति बरिष्ठ उपाध्यक्ष जयकृष्ण शर्माको संयोजकत्वमा, महिला तथा सांस्कृतिक विभाग प्रथम उपाध्यक्ष पार्वती भट्टको संयोजकत्वमा, केन्द्रीय-प्रदेश तथा स्थानीय तह समन्वय विभाग उपाध्यक्ष दिपक सापकोटाको संयोजकत्वमा चयन गरिएको छ ।
यसैगरी नेतृत्व विकास तालिम तथा प्रशिक्षण समिति उपाध्यक्ष निरन्जन सेढाइको संयोजकत्वमा, अर्थ तथा पूँजीकोष सुदृढीकरण समिति उपाध्यक्ष सागर पौडेलको संयोजकत्वमा, युवा सशक्तीकरण तथा समन्वय समिति उपाध्यक्ष किशोर कुमार गौतमको संयोजकत्वमा, सूचना प्रविधि तथा रोजगार विभाग उपाध्यक्ष प्रकाश श्रेष्ठको संयोजकत्वमा चयन गरिएको छ ।

यस्तै संगठन विधान कार्यान्वयन तथा परिमार्जन समिति महासचिव ज्योति कुमार श्रेष्ठको संयोजकत्वमा, अन्तरसंस्था समन्वय समिति उपमहासचिव दिपक प्रसाद सापकोटाको संयोजकत्वमा, संस्थाको अभिलेख तथा कार्यालय व्यवस्थापन समिति उपमहासचिव जगन्नाथ खनालको संयोजकत्वमा र अनुशासन तथा आचारसंहिता कार्यान्वयन समिति उपाध्यक्ष नरबहादुर गौतमको संयोजकत्वमा गठन गरिएको छ। कार्यक्रममा निवर्तमान अध्यक्ष हरि गौतम, संस्थापक अध्यक्ष रुवयनाथ कोइराला, पूर्व अध्यक्ष कुमार कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अन्त्यमा रात्रिभोजसहित समापन गरिएको थियो।







