ओली र रमेश लेखक आज अदालतमा पेश हुँदै, देशभर विरोधका कार्यक्रम जारी

काठमाडौँ – हिजो बिहान पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिने तयारी भएको छ। हिजो शनिबार सार्वजनिक बिदा परेकाले अदालतमा उपस्थित गराउन नसकिएको प्रहरीले जनाएको छ।

गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायत जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले दुवै नेतालाई पक्राउ गरेको हो। पक्राउपछि दुवै नेताको स्वास्थ्य परीक्षण गरिएको थियो। ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ भने लेखकलाई दुई नम्बर गणमा राखिएको छ।

ओली र लेखकको पक्राउपछि देशको राजनीतिक वातावरण तातिएको छ। नेकपा एमालेले दुवै नेतालाई तत्काल रिहा गर्न माग गर्दै देशभर विरोध प्रदर्शन सुरु गरेको छ। हिजो देशभर प्रदर्शन गरेको एमालेले आज पनि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ। यता नेपाली कांग्रेसभित्र पनि यस विषयमा फरक–फरक धारणा सार्वजनिक भएका छन्। शेरबहादुर देउवा पक्षले पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेको छ भने गगन थापा पक्षधरले आवेगमा काम नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टीले पनि सरकारले चाल्ने कदम न्यायपूर्ण हुनुपर्ने र त्यसले राजनीतिक प्रतिशोधको रूप लिन नहुने भन्दै सचेत गराएको छ। ओली र लेखकविरुद्धको अनुसन्धान प्रक्रिया र त्यसले ल्याउने राजनीतिक प्रभावलाई लिएर देशको ध्यान केन्द्रित भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्