काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ। प्रहरीको टोली भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो। अपराध अनुसन्धान कार्यालय टेकुको टोली, एसएसपी सन्तोष खड्काको नेतृत्वमा त्यहाँ पुगेको थियो। साथै, ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिएको जनाइएको छ। भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्नता रहेको आशंकामा अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनका आधारमा मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको बताइएको छ। स्रोतका अनुसार केही पीडित परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले ‘जरुरी पूर्जी’ प्रयोग गरी पक्राउ गरेको हो। अब कानुनी प्रक्रियाअनुसार पक्राउ पूर्जी प्रदान गर्ने, स्वास्थ्य परीक्षण गर्ने र २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी गरिएको छ।






