काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा ७८ वर्षीय केसीले औपचारिक रूपमा शपथ ग्रहण गर्नुभएको हो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित २७५ सदस्यमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्य निर्वाचित भएका छन्। नेपाली कांग्रेसका नेता केसी समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनुभएको हो।
अब ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभाका अन्य नवनिर्वाचित सांसदहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। त्यसपछि संसदीय प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। यसैबीच, सांसदहरूले शपथ लिएको भोलिपल्ट अर्थात् १३ गते शुक्रबार बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भइसकेको छ, जससँगै नयाँ सरकार गठन प्रक्रिया पनि अघि बढ्नेछ।







